गणपति डिलक्सका चालक र सहचालकको शव फेला, अझै ४५ यात्रुको अवस्था अज्ञान

काठमाडौँ । सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्सका चालक र सहचालकको शव फेला परेको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव घटनास्थलभन्दा १०३ किलोमिटर पर नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेजनजिकै फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म १७ वटा मात्र शव फेला परेका छन । अन्य बाँकी ४५ यात्रु र बसको अवस्था अज्ञात नै रहेको खबर आएको छ । हालसम्म भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । १७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् ।

६ दिनअघि त्रिशूली नदीमा खसेका दुईवटा बसको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन । यात्रु तथा बसको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय सुरक्षाकर्मीहरु परिचालित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *