पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ । उनलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना सुनाइएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको थियो ।
०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोपमा उनकी पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला वासुदेव पन्त, वासुदेवका कान्छा ससुरा ताराराज पाण्डेविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । तर, ०६३ कात्तिक ३० गते विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।