मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन सीटीईभीटीलाई समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम मापदण्ड पुगेर चिकित्सा शिक्षा अध्यापन गराउन चाहने शैक्षिक संस्थाको हकमा समितिले सम्बन्धन दिन भनेको हो ।
बिहीबार बसेको बैठकले यही शैक्षिक सत्रदेखि भर्ना लिने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । साथै, सीटीईभीटीको र चिकित्सा शिक्षा ऐनमा बाझिएका व्यवस्थामा एकरूपता ल्याउने प्रक्रिया तत्काल अघि बढाउन पनि समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।