हमास इजरायल युद्ध- वार्ताबाट बाहिरियो हमास

काइरो । हमासले युद्ध विराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।

जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको सिएनएनले जनाएको छ । वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो ।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्ता स्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्थकर्ताको युद्ध विराम सफलताको सम्भावनामा थप जटिलता आएको छ ।

हमासले अमेरिकी राष्ट्रपति बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई–२ को सम्झौतामा मात्र सहमत हुने दाबी गरेको हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्वीकार्नका लागि नयाँ सर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ शर्त आफ्नो समूहका लागि मान्य नहुने बताएका थिए ।

हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासी गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो । बदलामा इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, हमास निकट समूहविरूद्धको कारबाहीस्वरूप इजरायलले शुरू गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । आइतबार इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो ।

‘करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।

हिजबुल्लाह समूहको आक्रमणपछि शनिवार इजरायलले लेबनानसँगको बढ्दो तनावबीच ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *