श्री एयरलाइन्सले काठमाडौं भरतपुर उडान गर्ने
काठमाण्डौं । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सको ७२ सिटे एटिआर विमान भरतपुर ल्याउने तयारी गरिएको हो । गत असार ६ गते श्रीले काठमाडौं भरतपुर परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल भएसँगै श्रीले काठमाडौं भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनले दशैं अगाडि नै भरतपुरमा सेवा दिने गरी उडान अनुमति लिने प्रक्रियामा लागेको जानकारी दिए । ‘मलाई विश्वास छ दशैं अगाडि नै हामीले भरतपुर र त्यस आसपासका जनतालाई सेवा दिन पाउँछौं, त्यसको तयारी पनि भैरहेको छ,’ प्रबन्धक मानन्धरले भने, ‘एक दुई दिनभित्रै उडान अनुमति लिने प्रक्रिया सकिनेछ । भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ७२ सिटे विमान आउन नसक्ने भनिएता पनि श्रीले ८० सिटे जहाजकै सफल परीक्षण उडान गरेपछि अन्य विमान कम्पनीहरू पनि भरतपुर आउन चाहेका छन् । काठमाडौं भरतपुरको उडान बुद्ध एयरलाइन्सको ४२ सिटे जहाजले गर्दै आइरहेको थियो ।
अहिले भाडादर एकतर्फी मात्रै झन्डै ४७ सय बुद्धले लिंदै आएको छ । २० मिनेटमा भरतपुर काठमाडौं उडान गर्न सकिने भए पनि भाडा भने निकै महँगो पर्दै आएको छ । श्रीले ठुलो जहाज नै ल्याउने भएपछि भाडा पनि घट्ने र यात्रुलाई सुविधा पनि हुने श्रीका प्रवन्धक मानन्धरले बताए । श्रीले ८० सिटे जहाजको सफल उडान परीक्षण गरेपछि बुद्धले पनि ७२ सिटे जहाज नै ल्याएर परीक्षण उडान गरेको थियो । भरतपुर विमानस्थलको रनवे १२ सय मिटर मात्रै छ । रनवेलाई बढाउने भनेर प्रक्रियासमेत अगाडि बढेको छ । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ । ती भवनमाथिका जोखिम संरचना महानगरपालिकाले हटाउन सकेको छैन । भरतपुर विमानस्थल र प्राधिकरणले पटकपटक जोखिमयुक्त संरचना हटाउन अनुरोध गर्दै आएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्दैछ । विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ । भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन । विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा विमानस्थल विस्तार गरेर रनवे १६ सय मिटर बनाउने लक्ष्य राखिएको छ ।