महासभामा नेपालको प्रतिष्ठा तल पर्ने काम गर्दिन- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् ।
आज प्रतिनिधिसभामा बोल्दै राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए । उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए ।
‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरु जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ ।’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अशल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौं । छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।