नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गर्दै दायर गरिएको रिट फिर्ता भएको छ । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो । उक्त रिटमा भदौ ६ गते अन्तरिम आदेश जारी गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवाहदका आधारमा कार्यान्वयन हुन लागेका अवकाश रोक्न र अर्को आदेश नभएसम्म अन्यलाई पनि अवकाशमा नपठाउन आदेश गरेको थियो ।
उक्त अन्तरिम आदेशविरुद्ध नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयले भ्याकेट गरेको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो । अन्तरिम आदेशपछि तोकिएकै अवधिमा रिट निवेदक २१ प्रहरी अधिकारी अवकाशमा गएपछि रिटको औचित्य सकिएको भन्दै फिर्ताका लागि निवेदन दिएका हुन् । बुधबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त निवेदन फिर्ता हुने आदेश गरेको हो ।