भारतविरुद्ध बंगलादेशको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा बंगलादेशलाई अग्रतामा राख्न तोहुरा खातुनले दुई र अफिदा खन्डाकेरले एक गोल थपिन् । भारतकी बालादेवीले एक गोल फर्काएकी हुन् । खेलको १८औँ मिनेटमा अफिदा खन्डाकेरले गोल गर्दै साविक विजेतालाई अग्रतामा राखिन् । उनले राइट साइड बक्सबाट उत्कृष्ट चिप गोल गरिन् । पहिलो पटक साफ खेलिरहेकी अफिदाको यो बंगलादेशी टिमबाट डेब्यु गोल समेत हो । २६औँ मिनेटमा रितु पोर्ना चक्माको प्रहार पोस्टमा लागेर फर्किँदा बंगलादेशले अग्रता दोब्बर बनाउन सकेन । लेफ्ट साइडबाट उनले भारतका तीन रक्षकलाई बिट गर्दै उत्कृष्ट प्रहार गरेकी थिइन् । २९औँ मिनेटमा भारतविरुद्ध बंगलादेशले अग्रता दोब्बर बनायो । रितुले लेफ्ट साइडबाट गरेको क्रसलाई बक्सभित्र अनमार्क रहेकी तोहुरा खातुनले सहजै जाली चुमाइन् । ३५औँ मिनेटमा भारतकी बालादेवीले गोलका सुन्दर अवसर गुमाइन् । चानु सोरोखाइबामले लेफ्ट साइडबाट निकालेको क्रसमा बालाले ‘वान भर्सेस वान’ अवसरमा बंगलादेशी गोलकिपरलाई बिट गर्न सकिनन् । ३७औँ मिनेटमा मनिषाको फ्रिकक पोस्टमा लागेर फर्किदा भारतले गोलको अर्को अवसर गुमायो । ४३औँ मिनेटमा तोहुराले गोल गर्दै बंगलादेशको अग्रतालाई ३–० मा पुर्‍याइन् । सामसुनाहार जुनियरले मध्यभागबाट आएको बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै बक्स बाहिर रहेकी सविनालाई पास मिलाएकी थिइन् । सो बलमा कप्तान सविनाले १८ यार्ड बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसको अर्को मिनेटमा बालादेवीले गोल गर्दै भारतलाई ३–१ को स्थितीमा ल्याइन् । दलिमा छिब्बरले राइट साइडबाट निकालेको क्रसलाई बंगलादेशकी गोलकिपरले पञ्च गरे पनि सोही रिबाउन्डमा बालाले हेडर गोल गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *