मंसिर २९ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने
काठमाण्डौं । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापा–११ फुटबल क्लबले मंसिर २९ गतेदेखि प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ । उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाइमा झापा गोल्डकपको सुरुवात भएको थियो । सोमबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले फुटबलको विकास गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिता गर्न लागेको बताए । झापा–११ एफसीको प्रवर्धन तथा सञ्चालनका लागि सोबेला प्रतियोगिता आयोजना गर्ने उद्देश्य राखिए पनि कार्यान्वयन नभएको चौतर्फी चर्चा हुने गरेको छ । ११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौंमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ‘ए’ डिभिजन क्लबहरूलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो । त्यस्तै, विराट गोल्डकप, कटारी गोल्डकप, भाइभ्याली गोल्डकप, मानेभञ्ज्याङ गोल्डकप, भीमनारायण गोल्डकप, काँकरभिट्टा गोल्डकपजस्ता प्रतियोगितामा विजेता भएको झापा–११ सिक्किमको गभर्नर्स गोल्डकप तथा झापा गोल्डकपको पाँचौँ संस्करणसम्म उपविजेता रहेको छ । यो सिजन मोरङको बेलबारीमा सम्पन्न बेलबारी गोल्डकपको उपाधि हात पारेर उत्कृष्ट लयमा रहेको पुष्टि गरिसकेको क्लबका अध्यक्ष गुरुङले बताए ।