प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा सोमबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भेटवार्ता नियमित भएको बताए । तर, भेटमा प्रधानमन्त्री र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा हुने स्रोत बताउँछ । मन्त्रीहरूको समीक्षापछि थप निर्णय लिने तयारीमा प्रधानमन्त्री ओली छन् ।
कांग्रेस सभापति देउवा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनपछि मन्त्रिपरिषद् हेरफेरका लागि आवश्यक सहमति दिने छन् । कतिपय मन्त्रीको कार्यक्षमतमा प्रश्न उठिसकेको छ । त्यस्ता मन्त्रीहरूलाई गुटको आवरणमा संरक्षण दिँदा पार्टीको छवि धुमिल हुन्छ, कांग्रेसका एक नेताले बताए । वर्तमान सरकारको गठन नै विशेष अवस्थामा भएकाले गुट वा अन्य आधार नहेरी पदको प्रभावकारिता नै आधार मानेर जो कसैलाई फेर्न तयार रहनुपर्छ भन्ने साझा बुझाइ कांग्रेसमा बनेको छ ।