समाजवादीका अध्यक्ष नेपालले राखे बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे छलफल गर्न डाकेको बैठकमा सहभागी भएर बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । उनले भने- ‘बिआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं । विभिन्न सरकारहरुले यसमा समझदारी गरेका छन् । त्यसो हुँदा यसलाई पनि अगाडी बढाउनुपर्छ ।‘
नेपालले जुन देशबाट पहिलो निमत्रणता आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित हुने बताउदै भने- ‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने यो टण्टाबाट मुक्त हुनुपर्छ । जसले पहिलो निम्तो दिन्छ, त्यही गर्ने । जुन चिजको विषयवस्तुको गम्भीरता हुन्छ, त्यसको आधारमा त्यसमा पनि जब निम्तोकै कुरा छ भने जहाँ पहिले जान सकिन्छ त्यहीँ जाने हो ।‘
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।