कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च

एक भारतीय परिवारले आफ्नो पुरानो सुजुकी कारको दाह संस्कार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार कबाडीलाई दिनुको सट्टा उक्त परिवारले पुरेर यसको अन्तिम दाह संस्कार गरेका थिए । गुजरातको पदारसिंगा गाउँको पोलारा परिवारले आफ्नो १८ वर्ष पुरानो सुजुकी व्यागन आर माटोमा पुरेका थिए । यो समारोहमा एक हजार ५०० भन्दा धेरै मानिसहरू जम्मा भएका थिए । यो कार आफूहरूको ‘लक्की’ कार भएकोले कबाडीको जिम्मा लगाउनुको सट्टा यसलाई राम्रोसँग बिदा गरेको परिवारको भनाइ छ । आफूसँग आउडीलगायत अन्य कयौँ महँगा कार भएपनि परिवारको समृद्धि हासिलमा यो कार निकै महत्त्वपूर्ण रहेकोले यसका लागि केही विशेष गर्न चाहेको परिवारका मुली सञ्जय पोलाराले पत्रकारहरूलाई भनेका थिए । कारलाई पुर्न उनीहरूले १५ फिट गहिरो खाल्डो खनेका थिए । त्यसपछि कारलाई बिस्तारै यसमा राखेका थिए । कारलाई फुलको पत्र र रंगिबिरंगी मालाले सजाइएको थियो । यतिबेला पोर्टेबल स्पीकरमा गीत पनि घन्किरहेको थियो । कारलाई माटोले पुरेर त्यसमाथि समाधी पनि बनाइएको थियो । यति सबै गर्न ४ हजार ५०० डलर (६ लाख ९ हजार नेपाली रुपैयाँ) खर्च भएको थियो । कारको समाधिमाथि रुख रोप्ने योजना परिवारको भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *