कर्णाली याक्सको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा भने कर्णालीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

अन्तिम ओभरमा विराटनगरलाई जितका निम्ति १५ रन आवश्यक थियो । तर, क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले सात रन मात्र जोड्न सके । त्यससँगै विराटनगर सात रनले पराजित भएको हो । विराटनगरका निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए पनि हार टार्न सकेनन् । नन्दन यादवबाट १८औँ ओभरको चौथो बलमा बोल्ड हुनुअघि उनले ३९ बलमा चार चौका र एक छक्का प्रहार गरे । ६०–५ को स्थितिबाट किर्टोनले छैटौँ विकेटका निम्ति दीपक बोहरासँग ४४ रनको साझेदारी गरेका थिए । बोहराले १८ रन थपे । उनलाई १८औँ ओभरको पहिलो बलमा नन्दनले नै बोल्ड गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *