नकारात्मक विचारबाट कसरी उम्किने
वरपरको माहोल, मानिसको व्यवहार र जीवनमा पटक(पटक बदलिने परिस्थिति नकारात्मक विचारको कारण बन्न थाल्छ । अन्य मानिसबाट प्रभावित भएर आफूलाई कुनै प्रश्न गरी चुपचाप बस्ने हो भने नकारात्मकताको बाटो लम्बिंदै जान्छ । यसले सोच्ने विचारमा नकारात्मकता मात्र ल्याउँदैन । व्यवहारमा पनि परिवर्तन ल्याउँछ । यी परिवर्तन जीवनका लागि पक्कै राम्रो होइन । यही नकारात्मक विचार हाबी हुँदै जाँदा मानिसलाई जीवनको लक्ष्य प्राप्तिमा कठिनाइको सामना गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०१५ को तथ्यांकअनुसार विश्वभर ३० करोड मानिसमा डिप्रेसनको समस्या देखिएको थियो । जसमा १५ देखि ४९ वर्ष उमेर समूह ग्रस्त हुन्छन् । नकारात्मक विचार तब हाबी हुन्छ । जब मानिसले जीवनमा सत्यलाई स्वीकार गर्न नसकी नकारात्मकतातर्फ लाग्न थाल्छ । यसबाहेक कहिलेकाहीं अरू मानिसमा बढ्दो निर्भरताले कमजोरी र नकारात्मकता निम्त्याउन थाल्छ ।
नकारात्मक भावनाबाट कसरी जोगाउने ?
सन्तुष्ट हुन सिक्ने
हरेक मानिसको जीवन एकअर्का भन्दा फरक हुन्छ । उसको सुख र दुःख पनि अर्को व्यक्तिको भन्दा फरक हुने गर्छ । यस्तो अवस्थामा मानिसको तुलनात्मक व्यवहारले उसको जीवनमा नकारात्मकता आउन थाल्छ । आफूलाई खुसी राख्न, आफूसँग जे छ र कति छ त्यसमा सन्तुष्ट हुने प्रयास गर्नुपर्छ । भनिन्छ नि, ‘खाली दिमाग सैतानका घर । त्यस्तै, मानिस आरामको जीवन बिताइरहेको छ । ऊसँग गर्ने केही काम छैन भने पनि दिमागमा अनेकौं विचारले अप्रत्यक्ष रुपमा तनाव पारिरहेको हुन्छ । त्यसैले आफूलाई व्यस्त राख्ने प्रयास गरेमा पनि दिमाग नकरात्मकतातिर ढल्न पाउँदैन ।
जबर्जस्ती काम सही बनाउन जोड नदिनु
कुनै कामलाई सही बनाउन आवश्यकताभन्दा बढी समय बर्बाद गर्ने बानी धेरैको हुन्छ । यसले गर्दा एकातिर मनमा अपराध बोध बढ्न थाल्छ भने अर्कोतिर दूरी र नकारात्मकता बढ्न थाल्छ । हरेक अवस्थामा आफूलाई खुसी राख्ने प्रयास गर्नुपर्छ ।
अरूको विचारले आफूलाई प्रभाव पार्न नदिने
परिवार, आफन्त वा साथीभाइ अनुसार जीवन बाँच्न र आफ्नो जीवनको जिम्मेवारी आफैं लिनुपर्छ । अरूको विचारधारा र दृष्टिकोणले आफूमा प्रभाव हुन दिनु हुँदैन । उनीहरूको मन नपर्ने कुरालाई बेवास्ता गर्ने र आफ्नो इच्छाअनुसार आफ्नो जीवन जिउन सिक्नुपर्छ । अरूले भनेको कुराको आधारमा निर्णय लिने होइन, कुरा सुन्ने तर स्वयंको दिमाग र मनबाट आएको विचार विमर्श गरी निर्णय लिनु उपयुक्त हुन्छ ।
तुलनात्मक व्यवहारले नकारात्मकता बढाउँछ
आफ्नो जीवनलाई अन्य व्यक्तिको जीवनसँग तुलना गरेर मनलाई खिन्न पार्नु हुँदैन । आफूभन्दा राम्रो अवस्था भएकोसँग दाँज्नुको सट्टा आफूभन्दा तल्लो अवस्थाको जीवन बिताइरहेको हेरेर चित्त बुझाउनुपर्छ । अरुको खुसीमा दुःखी नभई खुसी हुन सिक्नुपर्छ । यसले जीवनमा सकारात्मकता बढाउँछ । आफूलाई अरूभन्दा अगाडि राख्ने प्रयास गर्नुहुँदैन । आफ्नो आवश्यकतालाई ध्यानमा राखेर जीवनमा अगाडि बढ्ने प्रयास गर्नु नै सकारात्मकता लैजाने दरिलो कदम हो ।
स्वयंलाई प्रेम गर्ने
अरुको राम्रो स्वरुप, हाउभाउ हेरेर आफू खिन्न हुने होइन । आफूलाई नै प्रेम गर्न सक्नुपर्छ । स्वस्थ, तन्दुरुस्त, चुस्त दुरुस्त कसरी रहने त्यसमा ध्यान दिनुपर्छ । आफू स्वस्थ सफा र राम्रो भएमा भित्रैबाट आत्मबल बढेर आउँछ । त्यसका लागि व्यस्त राख्ने, खानपान, स्वास्थ्यलाई ध्यान दिने, योग र व्यायामलाई दैनिकी बनाउने लगायत सामान्य अभ्यास गर्न सकिन्छ ।
नकारात्मक मानिसबाट टाढा रहने
आफ्नो व्यवहार उचित राख्न नकारात्मक बोल्ने व्यक्तिबाट पनि टाढा रहनुपर्छ । कसैले गरेको कुरा मन परिरहेको छैन भने मन परेन भन्ने हिम्मत आफूसँग हुनुपर्छ । त्यति पनि नसके नकारात्मक कुरा भइरहेको ठाउँ छोडेर हिंड्न सकिन्छ ।
आफ्नो क्षमता थाहा पाएर लक्ष्य बनाउने
यदि एक व्यक्तिले आफ्नो क्षमता भन्दा बाहिर लक्ष्य एकपछि अर्को गर्ने सोच बनाउँछ भने पूरा गर्न नसकेमा दुस्खी भई दिमागमा नकारात्मकताको मात्रा बढ्न थाल्छ । त्यसैले क्षमता र आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै त्यस अनुसार कुनै पनि लक्ष्य बनाएमा सफलता मिल्न सक्छ ।
स्वस्थ बिहानको दिनचर्याबाट सुरुवात
कुनै काम छैन । एउटै कुरालाई लगातार सोचिरहने हो भने बिहानको समयदेखि नै चिन्ता बढ्न थाल्छ, दिन बिग्रिन्छ । स्वस्थ दिनको सुरुवात गर्न योग र व्यायाम गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रकृतिको नजिक केही समय बिताउने, बिहानको खाजामा पौष्टिक खाना खाने गर्ने हो भने दिमाग सकारात्मकताले भरिन थाल्छ । दिन चङ्गा हुन्छ ।