कुलमानले बुझाए जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका छन् । घिसिङले आफूले आज स्पष्टीकरणको जवाफ पठाएको पुष्टि गरे । गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो । आफ्नो निर्णयमा साथ नदिएपछि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए । खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।

स्पष्टीकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो । त्यसका अतिरिक्त छबुँदे विवरणमा सत्य,तथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो । सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरवलोकन (रिभ्यू) नगराएको, कार्यसम्पादनमा ५० प्रतिशतकम अंक ल्याएको, असहयोगी भूमिका खेलेको प्रश्न सोधिएको थियो । घिसिङले कार्यसम्पादन विवरण शुक्रबार बुझाएका थिए । स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *