अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरूको चिन्ता नगर्नोस् :अध्यक्ष प्रचण्ड
काठमाडौं । बिहिबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसरी नै सरकार चलाए अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नै धेरै हुने टिप्पणी गरेका छन् । उनले देशका मालिक आफूहरू नै हौँ भन्ने ग्रन्थीबाट निस्कन सुझाए । हामीहरू देशका मालिक हौँ भन्ने ग्रन्थीबाट निस्कनोस् साथीहरू । २६ महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस्, प्रचण्डले भने, यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरूको चिन्ता नगर्नोस् ।
आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमन्डबाट ब्युँझनोस् । उनले कांग्रेस र एमालेका नेताहरूले देशलाई दुईदलीय बनाउने भनेको भन्दै आपत्ति जनाए । कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुईदलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरूलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईंहरूको दयामायाले हो ? तपाईंको करुणाले बनेको हो ? ।