मुकुम्लुङ केबलकार निर्माण विवादमा राजनीति छिरेको योगेश भट्टराईको आरोप
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै ताप्लेजुङका सांसद समेत रहेका नेता भट्टराईले विरोधको हकसबैलाई भएता पनि एन र कानूनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताएका छन् ।
‘ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरु आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांगातिक हमला गर्ने काम भयो । उनीहरु घाइते छन् । उनीहरुको संयमताले अन्य गतिविधि र थप नोक्सानी हुनबाट जोगिएको छ । ताप्लेजुङ जिल्ला पटक-पटक आगोलागीको चपेटामा परेको छ । त्यहाँ सुरक्षाकर्मीको संयमताले त्यस्तो स्थिति आउन पाएन । विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिकिो विरोधी कोही पनि छैन् । धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं । राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौं । तब विवादको ठूला रुप लिन्छ । नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो’ उनले भने ।
केबलकार निर्माणको विरोध चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।