हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ- लाज शरणम् निर्माता
काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् ।
बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, चलचित्रमा लगानी गरिरहने हो,” नवीन भन्छन् । रियलस्टेटको व्यापार केही सुस्तायको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको नवीन बताउँछन् ।
“विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,” निर्माता नवीन भन्छन्, “हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ । यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ ।” नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।