कर्भ इभी नेपालमा सार्वजनिक
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपालमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सार्वजनिक गरिएको टाटा कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभीको टप भेरिएन्ट मात्र नेपालमा उपलब्ध हुने छ । यसकारण यो मूल्य टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य हो । अन्य मोडल भने नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने छैन । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ । यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर छ ।१०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ । एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ । २० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।