संविधान संशोधनका लागि कार्यदलको गृहकार्य
काठमाडौं । सत्तारुढ कांग्रेसले संविधान संशोधनका विषयमा गृहकार्य गर्न पार्टीभित्र पनि कार्यदल गठन गर्नुपर्ने र सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा थप सदस्य थप गर्ने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले पनि कार्यदल गठन गर्ने विषयमा कुराकानी भएको थियो ।
प्रवक्ता डा. प्रकाशरण महतका अनुसार संविधान संशोधनका लागि कार्यदल बनाएर अघि बढ्ने विषयमा कुराकानी भएको छ । त्यसैगरी केवलकार निर्माणमा भइरहेको अवरोधप्रति संवेदनशिलता देखाउन अनुरोध गर्दै वार्ताबाटै समस्या समाधान गरिने निष्कर्ष निकालेको उनले जानकारी गराए । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा दुवै पार्टीका दुई–दुई जना मात्रै सदस्य रहेकाले पाँच–पाँच जना रहने गरी एमालेसँग कुरा गर्ने निर्णय भएको छ ।