एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सिइओमा नियुक्त गरेको हो । घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् । उनी एनएमबी बैंकमा ११ असोज २०७९ देखि नायब प्रमुख कार्यकारि अधिकृतमा कार्यरत छन् ।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । उपाध्याय पनि घिमिरेसँगै ११ असोज २०७९ मा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । उपाध्याय विगत ९ वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन् । उपाध्यायले सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करियर सुरु गरेको थिए । सन् २००९ सम्म ११ वर्ष स्टान्डर्ड चाटर्ड बैंक नेपालमा काम गरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक कतार र कतारकै मश्रेक बैंकमा करिब ६ वर्ष उनले काम गरे । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा नियुक्त भएका थिए । बैंकको डेपुटी जनरल म्यानेजरको हुँदै नायब प्रमुख कार्यकारी अधिकृत र हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उपाध्याय इन्टरनेसनल बैंकिङ, कर्पोरेट, बैंकिङ, एसएमई, रिटेल र ट्रान्जेक्सन बैंकिङमा विशेषज्ञ मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।