हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत- राप्रपा नेपाल

काठमाडौँ । राप्रपा नेपालले आइतबार काठमाडौँमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एक हुन आह्वान पनि गरेको छ । सो पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा जनतामा देखिएको भावना र चाहनालाई उपेक्षा गर्ने प्रयास गरिए परिस्थिति नियन्त्रण बाहिर जाने उल्लेख गरिएको छ । ‘सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु हुँदैन,’ बैठकका निर्णयमा भनिएको छ, ‘जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ ।’

पूर्वराजा शाहले सहयोगका लागि गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेको राप्रपा नेपालको ठहर छ । ‘राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेका छन् । त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौंमा देखा परेको वृहत् जनप्रदर्शन हो । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनस्स्थापना हुने सुस्पष्ट संकेत गरेको छ,’ बैठकका निर्णयमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *