क्यान्सर पीडित महामन्त्री राणाले उपचार नपाएको संयुक्त समितिको गुनासो
काठमाडौँ । प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा। धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।
उनलाई तीनकुने गोलीकाण्डका सन्दर्भमा झूटो मुद्दामा फसाउन खोजिएको आरोप पनि समितिले लगाएको छ । आज समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवलशम्शेर गत चैत १५ गते तीनकुनेको आन्दोलनपछि पक्राउ परेका थिए । उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
राणालाई यसपूर्व नै आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।
राणाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार समुदायसँग पनि आवाज उठाइदिन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।