मलाई कुनै दुःख छैन : योगेश भट्टराई
काठमाडौं । ताप्लेजुङमा ‘कञ्चनजंघा हीरक महोत्सव’को उद्घाटन क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । उद्घाटन समारोहमा कुनै व्यवधान नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं डीएसपी रवि रावलले बताए । कार्यक्रम राम्ररी सम्पन्न भयो, केही नराम्रो भएको होइन, माननीय पर्यटनमन्त्रीज्यू, सांसदज्यूहरू आउनुभएको थियो । शुक्रबार (वैशाख ५) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सव उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा ताप्लेजुङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराई पनि सहभागी थिए । मन्त्री पाण्डेसँगै सांसद भट्टराई हेलिकोप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका थिए ।
उद्घाटन समारोह राम्ररी सम्पन्न भएर उनीहरू दुवैजना शुक्रबारै काठमाडौं फर्किइसकेका डीएसपी रावलले बताए । कार्यक्रममा ‘नो केबलकार’ समूहले सांसद भट्टराईको विरोध गरेको भन्दै विभिन्न भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो केही नभएको उनले जिकिर गरे । त्यस्तो केही भएको छैन । हाम्रो इन्स्पेक्टरको कमान्डमा टोली खटिएको छ, त्यस्तो केही भएको भए हामीलाई रिपोर्टिङ हुन्थ्यो, डीएसपी रावलले भने । उद्घाटन समारोह सकिएपछि मन्त्री पाण्डे र सांसद भट्टराई फर्कने क्रममा भने केही व्यक्तिले नाराबाजी गरेका उनले बताए । उहाँहरू फर्कने बेला हेलिकोप्टरमा जाने क्रममा आठ,दशजनाले नाराबाजी गरेका हुन्, अरू केही होइन, उनले भने, त्यसपछि प्रहरीले सुरक्षितसाथ उहाँहरूलाई हेलिकोप्टरमा पुर्याएको थियो । राम्रैसित उहाँहरू जानुभएको हो । ‘नो केबलकार’ समूहले कुनै व्यवधान नगरेको उनको भनाइ थियो ।
सांसद भट्टराईले पनि ‘उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न’ भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूविरुद्धको नाराबाजीका विषयमा समेत टिप्पणी गरेका छन् । कार्यक्रम सकेर फर्कने क्रममा दुई,चारजनाले मेराविरुद्ध नारा लगाए छन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्, उनले लेखेका छन्, मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्दछ । उनले विरोधीलाई विवेकले काम गर्न आग्रह गरेका छन् । सामाजिक एकतामा उनले जोड दिएका छन् । जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ, उनले लेखेका छन्, सामाजिक एकता र सद्भाव नबिगारौँ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजंघा हीरक महोत्सव–२०८२’ शुक्रबारदेखि सुरु भएको राससले जनाएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुने राससमा उल्लेख छ ।