काग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
सभापति देउवा थाइल्याड प्रस्थान
काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।
सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् । सभापति देउवा पत्नी डा। आरजु राणासँगै थाइल्याण्ड गएका हुन् । परराष्ट्रमन्त्री समेत रहेकी डा। राणा बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघको एसिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन मन्त्री राणा आज थाइल्याण्ड गएकी हुन् ।
सभापति देउवा नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका हुन्। उनको वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । सभापति देउवालाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पुगेका थिए।