रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग
काठमाडौँ । सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए । सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे । सांसद गङ्गाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताए ।
सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लकको जग्गाधनीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट बढोत्तरी गर्न बहुपक्षीय योजनामा पार्न आग्रह गरिन् । सांसद रेखा यादवले देशव्यापी रुपमा भ्रष्टाचार मौलाएको भए पनि कारबाही नभएकामा गुनासो गरिन् ।
उनले नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक जारी गरेको श्वेतपत्रका बारेमा सत्य तथ्य छानबिन गर्न माग गरिन् । सांसद यादवले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि प्रकट गरिन् ।















