क्यानको केन्द्रीय सम्झौतामा नबस्ने सन्दीपको निर्णय
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै सन्दीपले आफू क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’
क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे ।
सन्दीप हाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजका लागि राष्ट्रिय टिममा रहेका छन् र उनी आजै टिमसँग त्यसतर्फ जादै छन् ।