विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द
काठमाडौं । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् ।
बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए ।
“बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १-३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो,” उनले भने “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।” गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।