स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्विजरल्यान्डको जेनेभामा जारी ७८ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य सम्मेलन आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरूका बीचमा छलफल केन्द्रित भएको बताए। उनले लगानी प्राप्त हुने स्थिति घटेकोले त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर सम्बन्धित राष्ट्रहरूलाई त्यसैअनुसार लगानी गर्नका निम्ति आधिकारिक रूपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको समेत बताए।

उनले भने, “आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरूका बीचमा छलफल केन्द्रित थियो। खासगरी विगतमा जुन ढङ्गबाट लगानी प्राप्त हुने स्थिति हो त्यो घटेको स्थिति छ। त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ती सम्बन्धित राष्ट्रहरूलाई त्यसैअनुसार लगानी गर्नका निम्ति आधिकारिक रूपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ।”

साथै उनले अहिले डब्लुएचओले जुन देश महामारीबाट बढी प्रभावित हुन्छ, त्यो देशलाई डब्लुएचओबाटै आधिकारिक रूपमा सहयोग पुर्‍याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए। उनले यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्लुएचओले सहयोग प्रदान गर्ने एउटा उपलब्धि भएको बताए।

उनले भने, “विभिन्न पक्षका छलफलहरू निरन्तर जारी रहिरहेको अवस्था छ। लगानी जुटाउने, व्यवस्थित ढङ्गबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरूबाट नै थप लगानीका निम्ति कोसिस गर्ने कामहरू भइरहेका छन्। खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढी प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारिक रूपमा सहयोग पुर्‍याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ। त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ हुने देखिन्छ। अरू बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *