काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ रोगको उपचार
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिएको रोगको सफल उपचार गरिएको छ । विश्वमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1) को नेपालमै पहिलोपटक सफल उपचार गरिएको हो । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर १ की मनिषा विककी २१ महिनाकी छोरी आध्या विकमा देखिएको स्नायु सम्बन्धी उक्त दुर्लभ हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार गरिएको हो । प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने उनी पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।
उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज ल्याइएपछि उनको पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण सफलतापूर्वक उपचार गर्न सफल भएको हो । डा. मिश्रका अनुसार उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि हो । उनका अनुसार मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको उक्त रोग विश्वमै दुर्लभ मानिन्छ । केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छन् । छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो, आमा मनिषा विकले भनिन् । डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन् ।