आठ राजनीतिक दलको सात प्रदेशमा आज अन्तरक्रिया
काठमाडौं । आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । आफ्नो उमेदवारलाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधि खटाएको छ । कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवारी पाएका छन् । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहनेछ । वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ सहभागी हुनेछन् । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि रहनेछन् । लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी जसपा , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा , जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका साझा उमेदवार हुन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
















