लक्ष्मी सनराइजको एकीकृत कारोबार साउनमा
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जर प्रक्रिया अर्को आर्थिक वर्षमा मात्रै टुंगिने भएको छ । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट डीडीए रिपोर्ट आउन बाँकी रहेकाले अर्को आर्थिक वर्षमा मात्रै दुवै बैंकको मर्जर सम्पन्न हुने भएको छ । चालू आर्थिक वर्षमै एकीकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकले लिएका थिए । तर, डीडीए रिपोर्ट ढिलो आएपछि साउनमा मात्रै एकीकृत कारोबार गर्ने तयारी रहेको लक्ष्मी बैंकका सञ्चालक दिनेश पौडेलले बताए । ‘दुवै बैंकको डीडीए रिपोर्ट आउन बाँकी छ, बैशाखको दोस्रो सातासम्म डीडीए रिपोर्ट आउनु पर्ने हो, यदि डीडीए रिपोर्ट छिटो आयो भने जेठ भित्रै मर्जर सम्पन्न हुन्छ, ‘डीडीए रिपोर्ट आउन ढिला भएपछि साउनमा मात्रै एकीकृत कारोबार हुन्छ । सञ्चालक पौडेलका अनुसार अहिले बैंकिङ्ग क्षेत्रको अवस्था नाजुक रहेकाले असारमा कर्मचारीलाई रिकभरीमा जोड गराइनेछ । असार मसान्तमा कर्मचारीलाई कामको चाप पर्ने भएकाले साउनमा मात्रै मर्जर सम्पन्न हुने उनले बताए । ‘बैंकिङ्ग क्षेत्रको अवस्था अहिले नाजुक छ, बैंकका कर्मचारीलाई रिकभरीमा जोड दिन भन्छौं, असारमा एकीकृत कारोबार गर्दैनौं, साउनमा मात्रै मर्जर गर्छौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर सम्पन्न गर्न बैशाखसम्म समय सीमा तोकेको छ । सोही अनुसार जेठ मसान्तसम्म दुवै बैंकले एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छन् । यदि जेठमा मर्जर सम्पन्न नभएमा साउनमा मात्रै एकीकृत कारोबार हुने पौडेलले बताए । लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपात कायम रहने बताइएको छ । तर, दुवै बैंकको विस्तृत डीडीए रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुनेछ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सहमति भएको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि गत फागुन पहिलो साता सैद्धान्तिक सहमति दिएको थियो । राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमतिको ३ महिनाको समय बैशाखमा सकिँदैछ । समयमा मर्जर प्रक्रिया सम्पन्न हुन नसकेपछि समय थपका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्ने तयारीमा दुवै बैंक छन् । मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सीईओ दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको बताइएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् । ‘लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको छ, सोही अनुसार मात्रै बैंकले मर्जर सम्झौता गरेको हो ।
मर्जर भाँड्ने लक्ष्मी बैंकको चेतावनी
सनराइज बैंकले लफडा निकाले मर्जर नै भंग गर्ने लक्ष्मी बैंकले चेतावनी दिएको छ । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेपनि सनराइज बैंकले विभिन्न लफडा निकालिरहेको स्रोतले बताएको छ । यदि बैंकले कुनै लफडा श्रृजना गरे आफूहरु मर्जरबाट हात झिक्ने स्रोतको भनाइ छ । ‘यदि सनराइज बैंकले लफडा निकाल्यो भने मर्जर हुँदैन, कि सनराइज बैंक कि राष्ट्र बैंकलाई मर्जर चाहिएको हो, लक्ष्मी बैंकलाई मर्जर आवश्यक छैन, लक्ष्मी बैंकका सेयरधनीहरु मर्जर गर्न लागेको भनेर रुष्ट छन् । यदि सनराइज बैंकले लफडा निकाल्यो भने आफूहरु मर्जरबाट बाहिरिने लक्ष्मी बैंकले बतायो । सनराइजले दाबी गर्ने बित्तिकै सबै नपाउने उनले बताए । ‘सनराइज बैंकको सञ्चालक समितिमा नै दन्द्ध छ, उनीहरुको बैठक नै सकेको छैन, सनराइजले दाबी गर्ने बित्तीकै सबै पाउँछ भन्ने छैन, मैले पनि प्रधानमन्त्रीको कुर्सीमा दाबी गर्छु नी, दाबी जसले पनि गर्न पाउँछ तर, पाउने की नपाउने भन्ने हुन्छ,’ उनले भने । मर्जर प्रक्रिया चलिरहेका बेला सनराइज बैंकले कर्मचारी बढुवा गरेको छ भने मर्जरपश्चात् घटाउने उनले बताए । साथै, लक्ष्मी बैंकले मर्जरमा कुनै कम्प्रमाइज नगर्ने उनको भनाइ छ । ‘बढुवा भएका सबै कर्मचारीको पद घटाउँछौं, यदि मान्नु भएन भने निकाल्छौं, यसलाई छलफलका माध्यमबाट समाधान गर्छौ, लक्ष्मी बैंकले कम्प्रमाइज गर्दैन, अलिकति पनि तलमाथि गरेको छ भने हामी मर्जर नै गर्दैनौं,’ उनले भने, ‘यदि अलिकति पनि लफडा भयो भने तपाईहरु जिम्मेवार हुनुपर्छ भनेर राष्ट्र बैंकलाई नै भनेका छौं, सनराइज बैंकको बोड बैठक नै अफिसमा बस्न नसकेर गभर्नरको अफिसमा बोलाएर बैठक बसेको थियो, यति धेरै लफडा भएको बैंकलाई हामीले लिन खोजिरहेका छौं । सनराइज बैंकले बार्गेनिङ पावर बढाउनका लागि लफडा श्रृजना गरिरहेको उनले बताए । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा.मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् ।

















