पार्टीका नेता धमाधम फरार हुन थालेपछि एमालेले वैशाख २६ गते बोलायो सचिवालय बैठक

काठमाडौं । यतिबेला प्रमुख विपक्षी दल एमालेका दुई बहालवाला सांसद फरार छन् । एकजना हत्या आरोपमा र अर्का ठगीधन्धामा फरार रहेका हुन् । लक्ष्मी कोइरी महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

उनीमाथि सशस्त्र प्रहरी जवान थमन विकको हत्या आरोपमा उच्च अदालत जनकपुरले जेल सजाय सुनाएको छ । हत्या आरोप लागेकै बेला ओलीले कोइरीलाई एमाले प्रवेश गराई टिकट दिएका थिए । कोइरीको सांसद पद निलम्बन भइसकको छ भने प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ ।
एमालेका अर्का बहालवाला सांसद टोपबहादुर रायमाझी पनि फरार भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । त्यसलगत्तै उनी सम्पर्कविहीन भएका छन् । शुक्रबार (आज) साँझसम्म उनी प्रहरीको सम्पर्कमा नआए उनलाई फरार सूचीमा राख्ने भएको छ । आफ्ना दुई सांसद फरार सूचीमा परेपछि केपी ओली तनावमा परेका छन् ।

पार्टीका नेताहरू धमाधम विभिन्न अभियोग लागेर फरार भएपछि एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी ओलीले वैशाख २६ गते सचिवालय बैठक बोलाएका हुन् । सचिवालय बैठकमा एमालेका पदाधिकारी रहनेछन् । बैठकमा झापामा बोलाइएको केन्द्रीय कमिटी बैठकबारे छलफल हुने बुझिएको छ ।

नेपालमा क्रियाशील रहेका राजनीतिक पार्टीमध्ये एमाले भ्रष्टाचारको दलदलमा फसेको पार्टी हुन पुगेको छ । यदि एमाले नेताहरू सरकारमा रहँदा गरेका भ्रष्टाचारका फाइल खुलेमा धेरै नेता सोत्तर हुने अवस्था छ । ईश्वर पोखरेल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल, लक्ष्मी कोइरी, नवराज सिलवाललगायत धेरै नेतामाथि भ्रष्टाचार मुद्दा लाग्न सक्छ । सोही कारण पनि मुद्दा प्रभावित पार्न एमाले अध्यक्ष केपी ओलीले प्रेमकुमार राईलाई अख्तियार पठाएर पार्टीका नेता जोगाउन लागिपरेको प्रस्टै देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *