यूनियन गुराँस,र प्राइम मर्जपछि हिमालयन लाइफ सञ्चालनमा
काठमाडौं । आजदेखि यूनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ । गुराँस लाइफको हाल चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ, यूनियन लाइफको दुई अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । उनी यूनियन लाइफका अध्यक्ष थिए ।
संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जना सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभसहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणले र्निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतले बतायो । बैशाख १३ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।

















