एमालेमा पूर्वमाओवादी नेता उपेक्षामा, पाएनन् राम्रो जिम्मेवारी

काठमाडौं । माओवादी छाडेर एमाले प्रवेश गरेका धेरैजसो नेता उपेक्षामा परेका छन् । एमालेले पार्टी नेताहरुको जिम्मेवारी हेरफेरसँगै स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको नयाँ जिम्मेवारी तोक्दा पूर्वमाओवादी नेताहरु छोइछिटोमा परेका छन् ।

पूर्वमाओवादी पृष्ठभूमिका नेता उपाध्यक्ष रामबहादुर थापा बादललाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मेवारी छ। माओवादी जनयुद्धका कमाण्डर रहेका बादलले सुरक्षाको जिम्मेवारी पाएका हुन्। उनी नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । तर उनीमाथि छानबिन भएको छैन । उनका छोरा प्रतीक थापा फरार छन् ।

पूर्वमाओवादी नेता रहेका टोपबहादुर रायमाझीलाई कुनै जिम्मेवारी दिइएको छैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई एमालेले सचिवसहित पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ। अर्घाखाँचीबाट चुनाव जितेका उनको सांसद पदसमेत निलम्बनमा छ। उनी शरणार्थी प्रकरणका मुख्य योजनाकार देखिएका छन् ।

पूर्वमाओवादीका कमान्डर लेखराज भट्टलाई कर्णालीको इन्चार्ज बनाइएको छ। उनलाई सुदूरपश्चिमको इन्चार्जबाट हटाइएको छ। यो ठाउँमा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। भीम रावलकै कारण भट्टको भूमिका साँघुरो पारिएको हो । सुदूरपश्चिमको जिम्मेवारीमा रहँदा भट्टले माओवादी अध्यक्ष प्रचण्डलाई घरमै बोलाएर भेट गरेपछि उनलाई कर्णाली पठाइएको हुनसक्ने चर्चा छ । उनी माओवादी फर्किन लागेको हल्ला एमालेमा व्याप्त छ ।

पूर्वमाओवादी नेता एवं एमाले स्थायी कमिटी सदस्य रहेका मणिचन्द्र थापालाई कुनै जिम्मेवारी दिइएको छैन। उनी धेरै समयदेखि एमालेमा सक्रिय देखिएका छैनन् । माओवादी पृष्ठभूमिकी ज्वालाकुमारी साहलाई सर्लाही र माधव शर्मालाई बुटवल उपमहानगरपालिकाको मात्रै जिम्मेवारी छ। विस्तारै विस्तारै पूर्वमाओवादी नेताहरू एमालेमा कर्नरमा पर्ने अवस्था देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *