२४ घण्टामा देशभरी भारी वर्षा, कुन ठाउँमा कति वर्षा विवरण सहित ?
काठमाडौं । वर्षायाम सुरु भएसंगै गएरातिदेखी देशैभर भारी वर्षा भएको छ ।
अविरल भारी वर्षाका कारण देशभरमा विभिन्न ठाउँमा ठाउँमा सडक अवरुद्ध बनेका छन् भने घर डुबानमा पर्नुका साथै पहिरोमा परि केही मानिसहरुसमेत बेपत्तामा परेका छन् । मनसुन सक्रिय भएका कारण देशभर वर्षा हुने क्रम जारी छ। अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाको गएरातिदेखी बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार २४ घण्टामा सबैभन्दा धेरै वर्षा धनुषामा भएको छ । धनुषामा २९१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
सोही अवधिमा महाशाखाले वर्षामापन केन्द्र राखेका तथ्याङ्क अनुसार सिमरा र वीरेन्द्रनगर (सुर्खेत) मा धेरै भारी वर्षा भएको छ भने जनकपुर (धनुषा), काठमाडौं (काठमाडौं), पोखरा (कास्की) र भैरहवा (रुपन्देही) मा भारी वर्षा भएको छ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सिमरामा १२५.७ मिलिमिटर र वीरेन्द्रनगरमा ११७ं० मिलिमिटर वर्षा भएको छ। यस्तै जनकपुरमा ९०.६, पोखरामा ६६.२ मिलिमिटर, काठमाडौंमा ६४.३ मिलिमिटर र भैरहवामा ६२.६ मिलिमिटर वर्षा भएको छ।


















