नेपालपेको क्यूआर सबै बैंकको मोबाइल बैंकिङ्गबाट स्क्यान गर्न सकिने
काठमाडौं । नेपाल पेको क्यूआर अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् । त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ(कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।

















