आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन्।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् ।

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का निवर्तमान अध्यक्ष हुन्। कांग्रेसको सक्रिय राजनीतिमा जाने योजनासहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएको बताइन्छ । उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान लविङ गर्दै आएका छन्। उनी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएका थिए।

थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए । थानीको नेतृत्वमा आयल निगम नाफामा गई सरकार र इन्डियन आयल कर्पोरेसनको ऋणसमेत चुक्ता गरेको थियो । थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *