मस्कको नयाँ ‘अमेरिका पार्टी’ माथि ट्रम्पको टिप्पणी: ‘असफल हुने निश्चित’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायी एलन मस्कद्वारा घोषणा गरिएको नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’को आलोचना गर्दै त्यसलाई बालहठ र असफल हुने निश्चित प्रयासको संज्ञा दिएका छन् ।
ट्रम्पले मस्कको पार्टीप्रति कटाक्ष गर्दै भनेका छन् कि अमेरिकाको राजनीतिक प्रणाली परम्परागत रूपमा दुई-दलीय रहेको छ र तेस्रो दलको लागि खासै सम्भावना छैन । उनले मस्कको कदमलाई “बालहठ”को रूपमा व्याख्या गर्दै भने, “हामीले रिपब्लिकन पार्टीसँग ठूलो सफलता पाएका छौं । डेमोक्र्याटिक पार्टीले आफ्नो विश्वास गुमाएको छ, तर अमेरिकामा सधैं दुई-दलीय प्रणाली रहँदै आएको छ । तेस्रो पक्ष सुरु गर्नु भनेको भ्रम फैलाउनु मात्र हो ।”
मस्क राष्ट्रपति चुनावका बेला ट्रम्पका आर्थिक सल्लाहकारमध्ये एक थिए, पछिल्लो समय ट्रम्पसँगको सम्बन्ध चिसिँदै गएपछि ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेका हुन् । उनले आफ्नो नयाँ पार्टीले रिपब्लिकन र डेमोक्र्याट दुबै दललाई चुनौती दिने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले थप भने, “विगत पाँच हप्तामा मस्क पूर्ण रूपमा बाटो बिराएको देख्दा मलाई दुःख लागेको छ । उनी अब रेलको भग्नावशेष जस्तै भएका छन् । तेस्रो पक्ष सुरु गर्नु भनेको अराजकता निम्त्याउनु हो, न कि समाधान दिनु ।”
















