जनकपुरको प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै
काठमाडौं । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । सदाकत र अनिलले अर्धशतक बनाएपछि जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । उनले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरे । अनिलले ६१ रन जोडे । उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा यी दुवै ब्याटरको यो पहिलो अर्धशतक हो । यी दुईले ५.१ ओभरमा ४५–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति ७९ रनको साझेदारी गर्दै जनकपुरलाई जितनजिक पुर्याएका थिए । अर्का ओपनर आसिफ शेखले १८ बलमा १८ रनको योगदान गरे । सादकतले पहिलो विकेटका निम्ति ५।१ ओभरमा आसिफसँग ४५ रनको साझेदारी गरेका थिए । मध्यक्रमका ब्याटर जान निकोल लोफ्टी इटोनले ११ रन बनाए । आदित्य महता १८ र सञ्जय कृष्णमुर्थी पाँच रनमा अविजित रहे । चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले समान एक विकेट लिए । चितवनले आठ बलर प्रयोग गरे पनि अरूले विकेट लिन सकेनन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका ओपनर मलानले सर्वाधिक ८० रन जोडे । उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । मलान र अर्जुन साउदले पहिलो विकेटका निम्ति १३।४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो सुरुआत दिलाएका थिए । अर्धशतकीय इनिङ खेलेका अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । कप्तान कुशल मल्ले १२ बलमा २८ रन थपे । सैफ जैब सात र रवि बोपारा तीन रनमा पभेलियन फर्किए । जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक विकेट लिए । जितसँगै पाँच खेलबाट दुई अंक जोडेको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै राखेको छ । जनकपुरले यसअघि पहिलो खेलमा काठमााण्डू गोर्खाजसँग पाँच विकेटको, दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो । चितवनको भने यो तेस्रो हार हो । चितवले यसअघि पहिलो र तेस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सविरुद्ध क्रमशः चार र ४८ रनको जित निकालेको थियो । दोस्रो र चौथो खेलमा चितवन लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजसँग ६ र ५३ रनले पराजित भएको थियो ।
















