जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

काभ्रेपलाञ्चोक । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेनजीका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्य प्रश्न उठ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको काभ्रे जिल्लाको भेलामा जेनजीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले सरकारसँग सम्झौता भएकोले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको बताए । वर्तमान सरकार जेनजी आन्दोलनपछिको परिस्थितिमा बनेको बताउँदै उनले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरीले दुःख दिने कार्य भए सरकारकै औचित्यमाथि समेत प्रश्न उठ्ने बताए । मन्त्री घिसिङले सोमबार युवाहरूले काभ्रेमा बुझाएको ज्ञापनपत्रमा समेटिएका धेरै विषयहरू सरकारसँगको सम्झौतामै समेटिएको उल्लेख गर्दै बाँकी विषयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । उज्यालो नेपाल पार्टीको अघोषित नेतृत्वमा रहेका घिसिङले दिन–रात नभनी सक्रिय भएर ‘उज्यालो काभ्रे’ बनाउने अभियान सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । ‘छोटो समय भए पनि असम्भव छैन, अहिलेको सरकार मात्र होइन, आगामी निर्वाचनपछि बन्ने सरकार कस्तो हुन्छ भन्ने मुख्य विषय हो,’ मन्त्री घिसिङले भने, ‘निर्वाचन पछीको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्छ ।’

जेनजी आन्दोलनमा सहभागी भएको वा सहभागी नभएकै आधारमा पनि प्रहरीले दुःख दिने, धरपकड गर्ने, झुटा मुद्दामा फसाउने कार्य भइरहेको भन्दै त्यसको अन्त्य वर्तमान सरकारले नगरे पुनः जेन जी युवाहरू आन्दोलनमा उत्रिने चेतावनी सहित पनौती नगरपालिका–२ का श्याम तिमल्सिनाले ज्ञापनपत्र बुझाएका थिए । उज्यालो नेपाल पार्टीमा हाल काभ्रे जिल्लाबाट चार जना केन्द्रीय सदस्य छन्। उज्यालो नेपाल पार्टी काभ्रेको सोमबार भएको जिल्ला स्तरीय भेलाले क्षितिज लामा तामाङलाई संयोजकमा छनौट गरेको छ । भेलाले सदस्यहरूमा विनोद तामाङ नमोबुद्ध, आसमान तामाङ पाँचखाल, सुनिता दोङ तेमाल, प्रमेश लामा पाँचखाल, सञ्जय तामाङ पाँचखाल, भुवनबहादुर थापा बनेपा, टेकबहादुर रायमाझी तेमाल, सफल तामाङ पनौती, विनोद तामाङ नमोबुद्ध, रवि घिसिङ रोशी, सुरज दाहाल बनेपा, युवराज खरेल पाँचखाल, गंगा रायमाझी श्रेष्ठ बनेपा, आवास तिमल्सिना बनेपा, दिवस बजगाई, बुद्धिमान तामाङ चयन गरेको छ । त्यस्तै भेलाले युवाहरूको संयोजकमा निशान्त रत्न बस्ताकोटी चयन भएका छन् । सह सयोजकमा अविरल लामा रोशी छनौट भएका छन् । भेलाले धुलिखेल नगरमा जीवनकाजी माकजु चयन भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *