प्रतिकूल अवस्थामा पनि सहारा नेपालको ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल

झापा । झापाको बिर्तामोड २, मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेको छ। संस्थाले चालु अवधिमा ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो। वर्तमान राजनीतिक अस्थिरता, सामाजिक मनोबलमा आएको गिरावट तथा सहकारीप्रतिको सार्वजनिक धारणा नकारात्मक बन्दै गएको परिस्थितिमा समेत संस्थाले यस्तो मुनाफा हासिल गर्न सफल हुनु सकारात्मक संकेत भएको सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए। संस्थाले २०८१ साउन १ गते ०८२ असार मसान्तसम्मको अवधिमा संस्थाले उक्त मुनाफा आर्जन गरेको हो । संस्थाले चालू आर्थिक वर्षमा ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको अध्यक्ष हरिबहादुर राजवंशीले जनाएका छन् । संस्थामा हाल शेयर पुँजी एक अर्ब ६९ करोड ७५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष एक अर्ब ३२ करोड ६८ लाख रहेको छ ।

त्यस्तै बचत १४ अर्ब १५ करोड ७६ लाख रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको जनाइएको छ । ०८२ असार मसान्तसम्मको संस्थाको वासलास १८ अर्ब ५६ करोड ५८ लाख रहेको छ । संस्थामा हाल एक लाख ९२ हजार दुई सय ४० जना शेयर सदस्य रहेका छन् । कोशी प्रदेशका छ जिल्लामा ८० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको सहारा नेपाल साकोसको वित्तीय अवस्था अत्यन्त मजबुत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गिरीले बताए। गिरीले भने ‘सहकारी प्रतिको नकारात्मक धारणाका बीच पनि सहाराले हासिल गरेको सफलताले मुलुकको सहकारी अभियानको विरासत जोगाउनमा टेवा पुगेको छ ।’ प्रमुख कार्यकारी अधिकृत गिरीका अनुसार संस्थाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रतिव्यक्ति बचत तीन लाखभन्दा कम करिब ९८ प्रतिशत र २५ लाखसम्मको ऋण पनि करिब ९५ प्रतिशत रहेको छ । संस्थाले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउने सोच अनुरुप ०८५ सम्ममा २५ अर्बको वासलास बनाउने लक्ष्य समेत तय गरेको छ । संस्थाले ०८३ असार मसान्तभित्रमा दुई लाख २५ हजार शेयर सदस्य पुर्याउने २० अर्बको वासलात बनाउने र ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१।०८२ मा विभिन्न शिर्षकमा ११ करोड ३६ लाख ५५ हजार दुई ८७ रुपैयाँ कर तिरेर देश विकासमा भूमिका खेलेको जनाइएको छ । त्यस्तै संस्थाका सदस्यहरुको सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधा कार्यक्रममा संस्थाले २६ करोड १७ लाख ६३ हजार एक सय ६८ रुपैयाँ खर्च गरेको छ । आठ हजार छ सय ८५ जना सदस्यलाई उक्त सुविधा प्रदान गरिएको जनाइएको छ । संस्थाको २९औं वार्षिक साधारण सभा अन्तर्गत मंगलबारबाट इकाइ साधारण सभा सुरु भएका छन् । संस्थाले २९औं वार्षिक साधारणसभाको अन्तिम माइन्युट प्रमाणित भेला पुस २१ गते सोमबार गर्ने जनाएको छ । प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इनरुवाको निर्देशन बमोजिम ७ वटा एकाई अन्तरगत ८६ स्थानमा उपएकाइ भेला पौस १ गते देखि १२ गतेसम्म सम्पन्न गर्दै प्रतिनिधिमुलक ढंगबाट सदस्यहरुलाई अन्तिम माइन्युट प्रमाणिकरण सभामा सहभागिता गराईने जनाइएको छ । सहाराको संचालक समिति र लेखा सुपरिबेक्षण समितिको आगामी ४ बर्षे कार्यकालको लागि यसै साधारण सभाले २०८३ जेष्ठ १४ गते देखि निर्वाचन प्रकृया शुरुवात गर्ने निर्णय गर्ने बताइएको छ । संस्थाले आर्थिक वर्ष ०८२।०८३ का लागि ३१ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको जनाइएको छ ।
मुख्य कार्यक्रमहरू यस्ता छन्
– संस्थाले सदस्यहरूको उद्यमशीलता विकास गर्दै रोजगारी सिर्जना गर्न एग्री–बिजनेस युनिट स्थापना गरी सेवा प्रदान गर्दै आएको छ।
– यस वर्षदेखि वातावरणमैत्री तथा शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित विभिन्न महत्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन गरिनेछ।
– शेयर सदस्यको निधनका बेला अबदेखि फोटो फ्रेमको सट्टा पहाडे कागजमा तयार गरिएको समवेदना पत्र प्रदान गरिनेछ। साथै, मृतकको नाममा एक बिरुवा उपलब्ध गराउने वा सामूहिक वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ।
– संस्थाको लोकप्रिय स्वास्थ्य कार्यक्रमलाई विपन्न वर्गसम्म विस्तार गर्न विशेष स्वास्थ्य कार्यक्रम लागू गरिनेछ।
– युवाहरूलाई संस्थामा आवद्ध गराउँदै युवा उद्यमसँग जोड्न ‘स्टार्टअप कोष’ मार्फत सहुलियत कर्जा उपलब्ध गराइनेछ। साथै, युवा सदस्यका लागि लोकसेवा परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिनेछ।
– संस्थाले सदस्यहरूलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घकालीन सोच राखेको छ। यस अन्तर्गत सहारा स्मार्ट एप, क्यूआर, एटीएम, एसएमएस सेवा उपलब्ध गराउँदै आइरहेकोमा यस वर्षदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको समेत प्रयोग गरी सेवा प्रदान गरिनेछ।
– यस वर्ष भौतिक पूर्वाधार अन्तर्गत बिर्तामोड–२ चारपानेस्थित जग्गामा शैक्षिक तालिम केन्द्र तथा शिवसताक्षी दोमुखास्थित जग्गामा कृषि स्रोत केन्द्र निर्माणको कार्य थालनी गरिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *