शिक्षा मान्छेको जीवन उज्यालो बनाउने माध्यम हो : मुख्यमन्त्री बानियाँ

काठमाडौं । मकवानपुरको बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा माननीय सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पवित्र स्थलबाट सुरु भएको निर्मल माविले ५० वर्षको यात्रामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले विगतमा विद्यालय जीवनयापनको माध्यम मात्र भए पनि अब समयअनुसार प्रविधिसँग जोडिनु आवश्यक रहेको बताए। विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले सीटीईभीटीसँग सहकार्य गरी कक्षा १० पछि तीन वर्षे इलेक्ट्रीशियन तालिम तथा १० देखि २४ महिनेसम्मका सीपमूलक तालिम सञ्चालन गरी शिक्षा र आयआर्जनलाई जोडिने योजना रहेको जानकारी दिए । अहिले एआईको जमाना हो, यस विद्यालयले पनि नयाँ प्रविधि आत्मसाथ गरिरहेको महसुस भएको छ, मुख्यमन्त्री बानियाँले भने। उनले विद्यार्थीहरूलाई विद्यालय आउन–जान सहज बनाउन बस खरिद प्रक्रिया अगाडि बढाइसकेको र यस विषयमा आफूले पहल गर्ने प्रतिबद्धता जनाए। साथै आगामी बजेटमार्फत विद्यालय माथिल्लो डाँडासम्म विद्युत् बत्ती बालिने र सदरमुकामदेखि वडासम्म सार्वजनिक बस सञ्चालन गरिने जानकारी पनि दिए।

मुख्यमन्त्री बानियाँले शिक्षा मान्छेको जीवन उज्यालो बनाउने माध्यम भएको उल्लेख गर्दै,शिक्षा जीवनको मन्दिर हो, त्यसैले मन्दिरलाई पवित्र बनाउन नयाँ प्रविधिसँग जोड्नुपर्छ। उनले प्रविधिसँग शिक्षालाई जोडेर अगाडि बढ्न सबैलाई आग्रह गरे। कार्यक्रममा बागमती प्रदेश सरकारबाट विद्यालयलाई करिब सात लाख रुपैयाँ सहयोग उपलब्ध भएको जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले उक्त रकम थप गरी २० लाख पुर्‍याइदिन अनुरोध गरेका थिए । यसप्रति सकारात्मक प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले २० लाख रुपैयाँको व्यवस्थापन आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री बानियाँले गरिबका छोराछोरीले नै देश र गाउँ चलाउने हुन्, भन्दै जिम्मेवारी सही ढंगले प्रयोग गरे जनताले गणतन्त्र गरिबकै लागि भएको महसुस गर्ने बताए। उनले समावेशी र समानुपातिक विकासलाई आत्मसाथ गर्दै तीनै तहका सरकारले विद्यालयहरूलाई नयाँ प्रविधिसँग जोडेर ‘पढ्दै–कमाउँदै अघि बढ्ने नीति लिएको उल्लेख गरे। अन्त्यमा उनले शिक्षालाई नयाँ प्रविधिसँग जोडेर अगाडि बढाउन बागमती प्रदेश सरकार सधैं तयार रहेको स्पष्ट पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *