१२ दिनका लागि बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आइतबार (पुस १३) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । यसको साँवा र ब्याज भुक्तानी भने यही पुस २५ गते हुने बताइएको छ । साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसअघि राष्ट्र बैंकले पुस ९ गते १६ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता बजारबाट खिचेको थियो ।
















