तीनकुनेमा हेलिप्याडसहितको काठमाडौ इन्टरनेशनल अस्पताल

काठमाडौं । काठमाडौंको तीनकुनेमा हेलिप्याडको सुविधासहित निर्माण भइरहेको अस्पतालको लागत बढेको छ । काठमाडौ इन्टरनेशनल हस्पिटल प्रालिले हेलिप्याड सुविधासहितको निर्माण गरिरहेको अस्पतालको लागत विगतमा अनुमान गरेभन्दा बढेको पाइएको हो । कम्पनीले सुरुमा ५ अर्ब ५५ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण हुने जनाएको थियो । उक्त लागत संशोधन गरी ७ अर्ब ४६ करोड ३० लाखम रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । तर, अहिले पुनः उक्त अस्पतालको निर्माण लागत बढेको पाइएको छ। कम्पनीले गरेको रेटिङअनुसार अब सो अस्पताल ८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण हुने भएको छ । कम्पनीले अस्पताल निर्माणका लागि ७५ः२५ लगानी अनुपात राखेको छ । कम्पनीले ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी २५ प्रतिशत लगानीकर्ताले लगानी गर्ने भएको छ । कम्पनीले अस्पताल निर्माण गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ९५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब ८८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । अस्पताल निर्माणका लागि ७६ प्रतिशत इक्विटीको व्यवस्थापन भइसकेको छ । त्यसैगरी हालसम्म ७० प्रतिशत आर्थिक प्रगति भइसकेको भने ८३ प्रतिशत भौतिक प्रगति भइसकेको छ । कम्पनीअनुसार हालसम्म अस्पतालको जग्गा अधिग्रहण, जगको कार्य र अन्य स्ट्रक्चरल निर्माण कार्य सम्पन्न भइसकेको छ । अस्पताल ६ हजार ५ सय क्वायरफिट क्षेत्रफलमा फैलिनेछ । त्यसैगरी, मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङको कार्य, अस्पतालको सामग्री र इन्टेरियरको कार्यहरु भइरहेको रेटिङमा उल्लेख छ । कम्पनीले सन् २०२६ को जुलाईबाट एक सय शैय्याको सुविधासहित अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ भने पूर्ण क्षमता अर्थात् ३ सय शैय्याको सुविधाका साथ सन् २०२७ देखि सञ्चालनमा ल्याउने योजना बनाएको छ । कम्पनीमा अधिकांश हिस्सा चितवन मेडिकल कलेजको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *