चुनावका यी अड्चन

कथित जेन्जी विद्रोहपछि उत्पन्न परिस्थितिबाट मुलुकलाई निकास दिन र पुनः संवैधानिक मार्गमा फर्काउन गरिने भनिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक ध्रुवीकरण शुरु भएको छ । चुनाव लक्षित गतिविधिमा नयाँ दल दर्ता,पुराना दलहरूबिच एकीकरण र शक्ति सुदृढीकरण अभियान नै चलेको छ । त्यसरी पार्टीलाई चुनावका लागी तयार पार्न नयाँ भनिएका र सामाजिक सञ्जाल मार्फत शक्ति देखाउन रुचाउनेहरू अग्रपङ्क्ति छन् । सहकारी ठगी काण्डमा मुछिएका रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह र विधुत प्राधिकरणका कर्मचारी कुलमान घिसिङले पदीय बाँडफाँड गरी चुनावी पार्टी बनाएका छन् । लामो समयदेखि अलग अलग बसेका मधेसी दल जनता समाजवादी दल र लोकतान्त्रिक समाजवादी दल पनि एक भएका छन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी, माधव नेपालको नेकपा (एकीकृत समाजवादी) समेतका केही व्यक्ति र गुटबिच पनि एकता भएको छ । सँगसँगै प्रचण्डको पार्टीबाट जनार्दन शर्मा समेतको समूह अलग भएको छ । निर्वाचन आयोगले चुनावी कार्यक्रम तीव्र पारेसँगै दलहरूमा सक्रियता बढ्नु स्वाभाविक भए पनि अझै ढुक्कसँग चुनावको तयारीमा जुट्न दलहरूलाई मौका प्राप्त भइसकेको छैन ।
विघटित संसद्का बहुमत सदस्यहरूले संसद् विघटन र वर्तमान सरकारको गठन गैर संवैधानिक र गैर कानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दिएको रिट अझै जीवितै छ । सर्वोच्चमा भएको मुद्दाले गर्दा चुनाव हुन्छ नै भन्ने ठोकुवा गर्न सक्ने स्थिति बनिसकेको छैन । उता रास्वपा सभापति रवि लामिछानेसँगै जेल फोरेर भागेका हजारौँ कैदी र कथित जेन्जी विद्रोहमा प्रहरीका लुटिएका हतियार फिर्ता भएका छैनन् । त्यसले मुलुकको शान्ति सुरक्षाको स्थिति निकै गम्भीर रहेको जनाउँछ । शान्ति सुरक्षाको अवस्था राम्रो नहुँदासम्म चुनाव निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित बन्ने सम्भावना नै रहँदैन । निर्वाचनमाथि प्रश्न चिन्ह लगाउने त्यसभन्दा पनि डरलाग्दो कारण चांहि वर्तमान सरकार हो । सरकारले जेन्जी आतङ्कलाई अध्ययन गर्न बनाएको आयोग र सरकारलाई काँध थापेर हिँड्ने केही दुई नम्बरी धन्धा समेत चलाउने जेन्जी नाइकेका गतिविधि निर्वाचन विरोधी मात्र छैनन्,तिनले निर्वाचन होइन मुख्य दललाई सिध्याएर सत्ता कब्जा गर्ने तयारी गरिरहेको स्पष्टै देखिन्छ । त्यसमा बारबरा फाउन्डेसन र युएस काउन्सिल अग्र भागमा रहेका छन् । नेपालको इतिहासमा अतुलनीय योगदान रहेका नेपाली काँग्रेस र नेकपा एमालेलाई चुनावमा जानै नदिने, तिनीहरूमाथि घातक र आंतककारी हमला गर्ने योजनामा विदेशी शक्ति लागि परेका छन् । त्यो कामका लागी केही भाडाका टटुहरुलाई जिम्मा समेत दिइएको छ ।
अहिले विदेशी डलरमा बिकेर देश जलाउनेहरू सामाजिक सञ्जालको दुरुपयोग गर्दै काँग्रेस, एमालेलाई चुनावी मैदानमा खडा हुन नै नदिने घोषणा गर्दै हिँडेका छन्, त्यो अभियानमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्री छन् । तिनले त्यो कुरा खुल्लेयाम घोषणा गरिसकेका छन् । यस्तो स्थितिमा चुनाव हुन्छ कि हुँदैन र भइहाले कस्तो हुन्छ भन्ने प्रश्न टड्कारो रूपमा उठेको छ । सत्ताका लागि जे पनि गर्न तत्पर रहने प्रचण्ड र देशको सार्वभौमिकतासँग सौदाबाजी समेत गरेर पदमा पुग्न खोज्ने रवि लामिछाने प्रवृत्ति र नसा सेवन गरेर मनपरी वर्वराउने बालेन्द्रहरु आसन्न निर्वाचनका सबभन्दा ठुला अड्चन हुन् । तिनलाई नपन्छाईकन चुनाव हुनै सक्दैन । र, तिनलाई पन्छाउन काम त्यति सजिलो पनि छैन । विदेशी शक्तिको आडमा सत्ता कब्जा गरेर बसेका छन् । तसर्थ, चुनावमा जानु अघि देश बचाउने र सार्वभौमसत्तासँग लोकतन्त्र बचाउने सवाल मुख्य बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *