मेलमिलापको सान्दर्भिकता झन् बढ्यो
नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा परेको महसुस गरी भारतको निर्वाशन जीवन परित्याग गर्दै युग पुरुष बिपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केको पाँच दशक बितेको छ । वि.सं. २०३३ साल पुस १६ गते मृत्यु दण्ड हुनसक्ने सङ्गीत मुद्दा हुँदाहुँदै कोइराला स्वदेश फर्किएका थिए । स्वतन्त्र र सार्वभौम मुलुक सिक्किमलाई भारतले षड्यन्त्रपूर्वक आफ्नो देशमा गाभेपछि कोइराला झस्केका थिए । संसारको सबभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भनिएको भारतले त्यस कालखण्डमा इन्दिरा गान्धीको एकछत्र राज बेहोरिरहेको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सञ्चालन गर्न भारत प्रवासमा रहेका बिपीलाई समेत गान्धीले बाधा अवरोध दिन थालेकी थिइन । कोइरालाको बसाइ रहेको नेपाल भारतको सीमा क्षेत्र बनारसमा उनलाई बस्न नदिने षड्यन्त्र भएपछि कोइराला नेपालमै मर्न तयार भएर स्वदेश फर्किएका थिए । कोइरालाको स्वदेश आगमनलाई त्यस बेला अनेक ढङ्गले परिभाषित गरिएको थियो । कतिले त्यसलाई राजासँग पृष्ठभूमि तयार पार्ने कदमको रूपमा लिएका थिए । कोइरालाको अभियानमा सामेल भएर उहाँसँगै नेपाल फर्किरहेका गणेशमान सिंह, शैलजा आचार्यहरू समेत कोइरालाको कदमसँग सहमत हुन सकेका थिएनन् । तर, मुलुकको अवस्था र विश्व परिस्थिति राम्रोसँग बुझेका कोइराला भने आफ्नो निर्णयप्रति दृढ थिए । उनको कथन थियो प्रजातन्त्रवादीहरूको राजासँगको मेलमिलापबाट मात्र नेपालको राष्ट्रियतामाथि मडारिएको कालो बादल हटाउन सम्भव छ । कालान्तरमा कोइरालाको उक्त कदम सही साबित पनि भयो । आफूलाई दुःख दिने राजासँग मिलेर अघि बढ्न त्यति सहज काँग्रेस कार्यकर्ताले नै स्थितिको गाम्भीर्य बोध गरेका थिएनन् । प्रवासमा बस्न नसकेर कोइराला आत्महत्या गर्न नेपाल फर्किए भनेर काङ्ग्रेसकै कार्यकर्ता भनिरहेका थिए । पञ्चायतमा रहेर सत्ताको तर तर मारिरहेका पञ्च नेताहरूले कोइरालालाई रोक्न अनेक प्रयास पनि गरे । उनलाई रोक्न नसकेपछि फाँसी दिन माग गर्दै पञ्च नेताहरू सडकमै उत्रिए । यस्तो विषम परिस्थितिमा देश जोगाउन ज्यानको बाजी थापेर कोइराला नेपाल आएका थिए । नेपाल प्रवेश गर्ने वित्रिकै गिरफ्तार भएर जेलमा बन्द गराइएका कोइरालाको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदा मृत्युदण्डकै माग भएको थियो । तर, आफूले मृत्युलाई स्वीकार गरेर पनि देश बचाउने कसम खाएका कोइराला डगमगाएनन् । कोइरालाको नेपाल आगमनले नेपालको राजनीति चलायमान गरायो । प्रजातन्त्रवादी कित्ताले गति लियो । राष्ट्रियतालाई पूर्णतः बेवास्ता गर्ने काँग्रेसीहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल लक्ष्य बनाए । कोइरालाले प्रजातन्त्रको लागि सङ्घर्ष र राष्ट्रियताको लागि मेलमिलाप को नारा अघि सारे । नेपालको प्रजातान्त्रिक सङ्घर्षको मियो बनेर खडा भएका कोइरालाकै कारण नेपालमाथि हस्तक्षेप गर्न चाहने विदेशी शक्ति पनि हच्कियो ।
तीसको दशकमा नेपालको राष्ट्रियतामाथिको सङ्कट बिपीकै भूमिकाका कारण टरेको थियो । तर अहिले नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डता त्यति बेलाभन्दा गम्भीर सङ्कटमा परेको छ । अहिले नेपाली काँग्रेस र कम्युनिष्टहरुलाई नै प्रयोग गरेर नेपालविरुद्ध गतिविधि गर्न विदेशीहरू त्यसमा पनि शक्ति राष्ट्रहरू सक्रिय भएर लागेका छन् । भदौ २३ र २४ गतेको कथित जेनजी अभियानका सन्दर्भमा घटेका घटनाले यो देशको राष्ट्रियता इतिहासमा सबभन्दा सङ्कटमा छ भन्ने देखिएको छ । अहिले विदेशीहरूले आफ्ना दूतावास मार्फत गाउँ गाउँ गतिविधि मात्र गरिरहेका छैनन् । तिनले नेपाली जनतालाई गुलाम बनाउने अभियान चलाइरहेका छन् । दूतावासले गाउँमा लगानी गरेर अनेक नाममा तालिम प्रशिक्षण र सेमिनार गरेर नेपाली जनतालाई आफ्नै देश र पार्टी तथा नेताविरुद्ध वितृष्णा पैदा गराउनलाई पहाड बनाएर प्रस्तुत गर्ने, आफ्नो धर्म, संस्कृति र परम्परालाई हेयको दृष्टिले हेर्न पर चक्रीलाई महान् ठान्ने मनस्थिति बनाउन सोसल मिडियाको भरमार दुरुपयोग भएको छ । यो अवस्थामा बिपीको राष्ट्रिय मेलमिलाप नेपाललाई रक्षा गर्न महत्त्वपूर्ण कबज बन्न सक्छ । तर समस्या के छ भने त्यसलाई आजको सन्दर्भमा पुनः परिभाषित गर्ने, त्यो विचारबाट कार्यकर्तालाई दीक्षित गर्ने र त्यसको लागू गराउने कुनै नेता र पार्टी देखिएका छैनन् । पञ्चायतको उत्तरार्धतिर नेपाली काँग्रेसले वर्षको एक दिन मेलमिलाप दिवसलाई उत्सवकै रूपमा मनाथ्यो । त्यो दिन देशैभर विविध कार्यक्रम हुन्थे । पुलिससँग भिड्दै वृक्षारोपण गर्नेदेखि रक्तदान, गोष्ठी, छलफल र भेलाहरू हुन्थे । आज काँग्रेसले श्राद्धमा बिरालो बाँध्ने परम्परा झैँ मेलमिलाप दिवस मनाउँछ । त्यो बेला चेतना र जागरणको अभियानको रूपमा सञ्चालन हुने मेलमिलाप दिवस अहिले कङ्ग्रेस पार्टीले औपचारिकतासम्म दिने गरेको छ ।
त्यो काम त्यसको औचित्य ठम्याउन नसकेर नै भएको हो । मेलमिलापको औचित्य अहिले बढेको छ । देश बाह्य शक्तिको कुदृष्टिबाट बच्न नसक्ने गरी फसेको छ । तर अहिलेका नेता र पार्टी त्यसलाई उपेक्षा गरिरहेका छन् । युवा पुस्तामा देशको माया, प्रेम, स्नेह र श्रद्धा समाप्त भएको छ । यस्तो पनि देश यस्तो देशमा किन बस्ने भन्ने आजको पुस्ताले राष्ट्रियता रक्षा गर्नुपर्छ भन्ने बुझ्न नसक्ने अन्यथा होइन । तर, शासक वर्ग, पार्टीहरूका स्थापित नेताहरूमा देखिएको संवेदनहीनताले भने सबैलाई स्तब्ध गराएको छ । देश त अहिले प्रधानमन्त्री–मन्त्री बन्न, लुटेर मोज गर्न पदमा बसेर पदीय सुविधाको उपभोग गर्नका लागि मात्र भएको छ । जनतालाई सामाजिक सञ्जालको आकर्षणमा पारेर देश जलाउनेहरूको चङ्गुलमा परेको यो स्वतन्त्र सम्पन्न र अखण्ड राख्न बिपीको मेलमिलाप नीति सहायक बन्न सक्छ । त्यो विचार अब काँग्रेसको मात्र पुँजीको रूपमा पनि रहेन । त्यो सारा नेपालीको साझा सम्पत्ति भएको छ ।देशलाई स्वतन्त्र राख्न, यसको अस्तित्वको रक्ष गर्न मेलमिलापलाई पुनः जगाउनु, त्यो नीतिमा हिँड्न आवश्यकता छ । त्यसमा काँग्रेस–गैर काङ्ग्रेस सबैले सङ्कीर्णता त्यागेर सामेल हुनुपर्छ ।
















