कर्मचारी कुटपिटको घटनाप्रति सीइओ संगठनको ध्यानाकर्षण, बैंकिङ सेवा ठप्प पार्नेसम्मको चेतावनी
काठमाण्डौं । पछिल्लो समय देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि भएका कुटपिट र हातपातका घटनाप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको संगठन (सीइओ संगठन) को गम्भीर ध्यानाकर्षण गराएको छ। फियनका अध्यक्ष पदमराज रेग्मी, उपाध्यक्ष शिवहरि भण्डारी र महासचिव विकास श्रेष्ठसहितको टोलीले वाणिज्य बैंकका सीइओहरूको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका सीइओहरूको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, फाइनान्स कम्पनीका सीइओहरूको संस्था नेपाल वित्तीय संस्था संघ तथा लघुवित्त वित्तीय संस्थाका सीइओहरूको संस्था नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरूसँग भेट गरी कर्मचारी सुरक्षाको विषयमा गम्भीर चासो व्यक्त गरेको हो। नेपाल बैंकर्स संघको कार्यालयमा भएको छलफलमा फियनका अध्यक्ष रेग्मीले कर्मचारीमाथि निरन्तर आक्रमण भइरहेमा बैंकिङ सेवा नै ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै सीइओहरूको ध्यानाकर्षण गराएका थिए।
छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका महासचिव माधवप्रसाद उपाध्याय, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवलगायतको उपस्थिति रहेको थियो। छलफलपछि बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त संस्थाका सीइओ संगठनका अध्यक्षहरूले कर्मचारीको पक्षमा आफूहरू दृढ रहेको जनाउँदै कर्मचारीमाथि हुने हातपात तथा आपराधिक गतिविधिमा संलग्नमाथि कारबाही नभए आफूहरूले समेत बैंकिङ सेवा ठप्प पार्ने आन्दोलनमा सघाउने प्रतिबद्धता जनाएको फियनका उपाध्यक्ष शिवहरि भण्डारीले बिजपाटीलाई जानकारी दिए। पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकको घोराही शाखाका कर्मचारी कुटपिटमा परेपछि बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरू सेवा प्रवाहमा असुरक्षित महसुस गर्न थालेका छन्। यसअघि ज्योति विकास बैंकका कर्मचारीमाथि समेत हातपात भएको घटना सार्वजनिक भएको थियो।
















