आगामी चुनाव पूर्वी रुकुमबाट लड्छु : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो संकेत गरेका हुन् । आफ्नो चुनावी योजना सुनाउँदै प्रचण्डले पूर्वी रुकुम र पश्चिम रुकुम एउटै भएको तर्क समेत गरे । उनले यहाँको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए । उनले रुकुमका जनता महान् रहेको र उनीहरू कुनै विचलित तत्त्वको पछि नलाग्ने दाबी गरे । रुकुम एउटा ऐतिहासिक जिल्ला भएको र यहाँका जनताले सधैं क्रान्तिको साथ दिएको बताए ।

सम्बोधनका क्रममा प्रचण्डले पार्टीबाट पलायन भएका र विचारबाट विचलित भएकाहरूप्रति कडा प्रहार समेत गरे। उनले केही नेताहरू कम्युनिस्ट आन्दोलन र सिद्धान्त छोडेर गए पनि रुकुमका जनता भ्रममा नपर्ने बताउँदै उनीहरू कसैका दास नभएको समेत उल्लेख गरे । पलायन हुनेहरुका पछाडि साम्राज्यवादी र प्रतिक्रियावादी षड्यन्त्र रहेको दाबी गर्दै उनले रुकुमेली जनतालाई क्रान्तिका ‘लाल सिपाहीको संज्ञा दिए। प्रचण्डले अब पार्टी हेडक्वार्टरसँग रुकुमेली जनताको सिधा सम्बन्ध हुने आश्वासन समेत दिए । विकास निर्माण, कृषिमा उत्पादकत्व वृद्धि, ऊर्जा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सङ्कल्पका साथ अघि बढ्न चुनावी घोषणापत्रको लेखन कार्य सुरु भइसकेको जानकारी समेत उनले दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *