१२ दिन आफ्ना लागि अत्यन्तै पीडा,१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कुलमानको घोषणा

काठमाडौँ । रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण सदस्य भएर बस्न तयार हुँदा पनि रास्वपा पक्ष सहमत नभएपछि उनीहरूले एकतर्फी रूपमा एकता भंग भएको घोषणा गरेको बताए । शनिबार साँझ पत्रकार सम्मेलन गर्दै घिसिङले गएको रास्वपाले एकतर्फी रूपमा एकता भाँडेको भन्दै १२ दिन आफ्ना लागि अत्यन्तै पीडा महसुस गर्नुपरेको गुनासो सुनाए । रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेको थिएँ, तर कुरा मिलेन, कुलमानले पत्रकार सम्मेलनमा भने । उनले संविधानका आधारभूत विषयमा सहमति कायम गर्न एउटा पूरक सम्झौता गरौं भन्दा पनि रास्वपासँग कुरा नमिलेको भन्दै वार्ता जारी रहँदा रहँदै रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाए । १२ दिन अत्यन्तै पीडादायक रह्यो । यो अवधिमा उज्यालो नेपालका शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ। उनीहरूले हामीलाई सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर ठाउँ ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे, कुलमानले भने, ुहामी भने जेनजी आन्दोलनले जुन खालको नयाँ शक्ति चाहेको थियो, त्यसलाई सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्ने चाहेका थियौँ ।

आगामी दिनमा उज्यालो नेपाल पार्टी आगामी दिनमा आफ्नै नेतृत्वमा देशव्यापी र प्रभावकारी रुपमा अगाडि बढाउने कुलमानले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘पुस १४ मा भद्र सहमति भएको थियो । अलिखित सहमति पनि थिए । ती सहमतिमा हाम्रा ठुला माग थिएनन् । सहमतिको चरणमा हाम्रा साथीले ठुला माग राखेका पनि थिएनन्, जुन मिडियामा पदको बार्गेनिङ गरेको कुरा आयो त्यो गलत हो, कुलमानले भने, ‘म आफै पनि उपाध्यक्ष वरीयतामा तल भएर सहेको थिएँ । अन्तिम चरणमा आज सहमतिका लागि प्रस्ताव गरेको थिएँ । समानुपातिकलगायत कुरामा रास्वपाले लामो समय लिएर अल्मल्याउने काम गरेको भन्दै आफूहरूलाई बिलखबन्धनमा पार्न खोजेकाले अब उज्यालो नेपालले १६५ क्षेत्रमै उम्मेदवार उठाएर निर्वाचनमा जाने घोषणा गरे । उनेपाको आजै बसेको बैठकले अनुपकुमार उपाध्ययले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गर्दै कुलमानलाई अध्यक्ष बनाएको थियो । उनले एकचोटि आफूलाई अवसर दिन आग्रह गर्दै देशलाई कसरी विकास गर्ने भन्ने देखाइदिने समेत ठोकुवा गरे । समानुपातिकतर्फ पनि कुनै न कुनै व्यवस्था गर्ने भन्दै नभए प्रत्यक्षमा मात्र निर्वाचन लड्ने कुलमानले पत्रकार सम्मेलनमा जानकारी गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *